बालअधिकारको सन्देश फैलाउँदै अत्तरियामा बाल दिवस, प्रभातफेरीदेखि सांस्कृतिक कार्यक्रमसम्म

Image
Nisarga Hospital

अत्तरिया: ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा कैलालीको अत्तरियामा नगरस्तरीय बाल दिवस तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्रभातफेरीमार्फत बालअधिकार, शिक्षा, संरक्षण र बालबालिकाको उज्ज्वल भविष्यका विषयमा सडकमा जनचेतना फैलाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टले बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकार, अभिभावक र समाज सबैको साझा दायित्व भएको बताए। उनले बालबालिकाको क्षमता, प्रतिभा र सिर्जनात्मकताको विकासका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख हरिश पन्त, वडा नं. १२ का अध्यक्ष भीम खड्का, वडा नं. ४ का अध्यक्ष हेमप्रकाश मल्ललगायतको उपस्थिति रहेको थियो।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्री धामीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उनले पालिकामा बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र क्षमता विकासका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउन शाखामार्फत सहजीकरण गर्दै आएकी छन्।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न शाखाका प्रतिनिधि तथा नगर बाल सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।