
काठमाडौं : सरकारले सोमबार काठमाडौं उपत्यकामा ‘सेल ब्रोडकास्ट प्रणाली’को परीक्षण गर्ने भएको छ। परीक्षणका क्रममा मोबाइलमा ठूलो आवाज र कम्पनसहित आपत्कालीन सतर्कता सन्देश आउन सक्ने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै परीक्षण सन्देश प्राप्त भए कुनै कदम चाल्न आवश्यक नरहेको स्पष्ट पारेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणाली परीक्षण गरिनेछ। सुरुमा सीमित मोबाइल प्रयोगकर्ताले मात्रै यस्तो सन्देश प्राप्त गर्न सक्नेछन्।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि पठाइएका सतर्कता सन्देश प्रभावकारी नभएको गुनासो आएपछि सरकारले नयाँ प्रविधिको परीक्षण अघि बढाएको हो।
सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइलमा एकैपटक सूचना पठाउन सकिन्छ। भूकम्प, बाढी, पहिरो तथा प्रतिकूल मौसमका बेला यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसबाट विपद्को जोखिम न्यूनीकरण र समयमै नागरिकलाई सचेत गराउन सहयोग पुग्नेछ।



























