
जाडोयाममा बिहान झिसमिसेमै वाकमा निस्कनु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले घाम लागेपछि मात्र वाकमा निस्कन विज्ञहरूले सुझाव दिएका छन्।

चिसो हावामा धूलो, धुँवा, र कार्बनजस्ता प्रदूषक कणहरू जमिनमै रहने भएकाले झिसमिसे बिहानको हावा बढी प्रदूषित हुने वातावरणविद् भूषण तुलाधारले बताएका छन्। उनका अनुसार, जाडोयाममा घाम लागेपछि तातो हावा माथि जान थालेसँगै जमिनको हावामा प्रदूषणको मात्रा कम हुने गर्दछ।
प्रदूषणका स्रोत र असर
सहरमा सवारी साधनको धुँवा, ग्रामीण क्षेत्रमा जैविक फोहोर र दाउरा जलाउनु, इँटा उद्योग र अन्य उद्योगहरूले वायुमण्डलमा सूक्ष्म कण र हानिकारक ग्यासहरू उत्सर्जन गर्दा प्रदूषणको मात्रा तीव्र हुने विज्ञहरूले जनाएका छन्।

जनस्वास्थ्यविद् डा. समिर अधिकारीका अनुसार, वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी, दम, उच्च रक्तचाप, ह्दयघात, र फोक्सोको क्यान्सरजस्ता गम्भीर रोगहरूको जोखिम बढ्दछ।

मुटुरोगीका लागि बढी जोखिम
मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्माका अनुसार, झिसमिसे बिहानको प्रदूषित हावाले मुटु, रक्तचाप, र दीर्घरोगीहरूलाई बढी असर गर्दछ। जाडोयाममा शरीरमा हर्मोनको असन्तुलनले रगतको बाक्लोपना बढ्ने र रक्तप्रवाह असामान्य हुन सक्ने भएकाले मुटुरोगीहरूले बिहान अबेर मात्र वाक गर्नुपर्ने उनले सुझाएका छन्।
सतर्कता अपनाउने उपाय
वातावरणविद्हरू र स्वास्थ्य विज्ञहरूले जाडोयाममा प्रदूषण र चिसोबाट बच्न निम्न सुझाव दिएका छन्:
घाम लागेपछि मात्र वाकमा निस्कने।
मास्कको प्रयोग गर्ने।
चिसोमा बाक्लो लुगा लगाउने।
धूमपान र जैविक फोहोर जलाउने कार्य नगर्ने।
सवारी साधनको धुवाँ कम गर्ने र सफा ऊर्जा प्रयोग गर्ने।
जाडोयाममा प्रदूषणको समस्या गम्भीर
नेपालमा जैविक इन्धन, दाउरा, गुइँठा बाल्ने परम्पराले प्रदूषण झन् बढेको छ। वातावरणविद् वर्षा पराजुलीका अनुसार जाडोमा बढी तुवाँलो र चिसोका कारण प्रदूषणका कणहरू जमिनमै जमेर बस्ने हुँदा वातावरण थप प्रदूषित हुने गर्छ। जलवायुविद् मञ्जित ढकालका अनुसार, प्रदूषण न्यूनीकरणका लागि सवारी साधनबाट निस्कने धुवाँ कम गर्नुपर्छ।
स्वास्थ्यलाई दीर्घकालीन असरबाट जोगाउन प्रदूषण न्यून गर्ने प्रयासमा सबैले योगदान दिनुपर्ने विज्ञहरूको भनाइ छ।































