
सिजन सुरु नहुँदै बजारमा कार्बाइड प्रयोग गरी पकाइएका आँप बिक्री भइरहेका छन्। असारपछि मात्र स्वाभाविक रूपमा पाक्ने नेपाली आँप अहिले होलसेलरमार्फत खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुगेको छ। कार्बाइड प्रयोगले आँपलाई छिटो पाकाए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने विज्ञहरूको चेतावनी छ।

कार्बाइडले पकाएको आँप सेवन गर्दा पेट दुख्ने, बान्ता, पखाला, फोक्सो, मिर्गौला र मुटुमा समेत नकारात्मक असर पर्न सक्छ। साथै यस्ता फलफूल स्वादहीन हुने र पोषक तत्व हराउने हुँदा दीर्घकालीन रुपमा स्वास्थ्यमा क्षति पुर्याउने विज्ञहरू बताउँछन्।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातका आँप असारपछि मात्र पाक्ने गर्छन्। तर उपत्यकासहित देशभर यस्ता आँप पहिले नै बिक्रीमा देखिनुले अनुगमनको कमजोरी झल्किन्छ। यस्तै अवस्था सुदूरपश्चिममा पनि देखिएको छ। हालै धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएको २,२७६ किलो आँप नष्ट गरेको थियो।


काठमाडौँ महानगरपालिकाले पनि कालीमाटी फलफूल बजारमा परीक्षण थालेको छ। लिचीमा विषादी नपाइए पनि आँपमा परीक्षण नहुनु चिन्ताको विषय बनेको छ।
स्वास्थ्य विज्ञहरूले उपभोक्तालाई सिजनअनुसारको फलफूल मात्रै उपभोग गर्न आग्रह गरेका छन्। कार्बाइड प्रयोग गरेर बजारमा ल्याइएका फलफूलबाट बच्न सतर्कता अत्यावश्यक छ।






























