
मध्य जेठमै नेपाल प्रवेश गरेको मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढ्दै गएको छ। पश्चिमी नेपालमा मनसुन अझै प्रवेश नगरेको र पूर्वमा केही दिन सक्रिय भइसके पनि विस्तार नहुनुले धेरै स्थानमा गर्मी चर्किएको हो।

नेपालगञ्जमा सबैभन्दा बढी तापक्रम
हिजो नेपालगञ्जमा देशकै उच्च तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको छ। धनगढीमा तापक्रम ४०.२ र भैरहवामा ४० डिग्री सेल्सियस पुगेको छ। तराई-मधेसका अधिकांश क्षेत्रमा तापक्रम सामान्यभन्दा माथि पुगेको छ। राजधानी काठमाडौंमा पनि हिजोको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन भएको छ।
मनसुन विस्तारमा ढिलाइ
कोशी प्रदेशमा मनसुन प्रवेश गरे पनि केही दिन मात्र सक्रिय भएर अहिले कमजोर बनेको छ। पछिल्ला केही दिन कोशी प्रदेशमै पनि वर्षा नहुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, मनसुन देशभर फैलिन अझै एक हप्ता देखि दश दिन लाग्न सक्ने देखिएको छ।
आज कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। भोलिदेखि भने वर्षा गराउने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत मिल्न सक्ने अनुमान गरिएको छ।
गर्मीले स्वास्थ्यमा असर
गर्मीको असर जनजीवनमा देखिन थालेको छ। अत्यधिक गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने जस्ता लक्षण देखा पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार दिउँसोको चर्को घाममा घरबाहिर ननिस्कनु उपयुक्त हुन्छ। निस्कनै परेमा छाता वा टोपी प्रयोग गर्न, शितल स्थानमा बस्न, प्रशस्त पानी तथा झोलिला पदार्थ सेवन गर्न सल्लाह दिइएको छ।




























