
बझाङ: सुर्मा गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। लामो समयदेखि सदरमुकाम चैनपुर पुगेर महँगो मूल्यमा चामल खरिद गर्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले पहल स्वरूप उक्त डिपो सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाका अध्यक्ष खडक बोहराले मंगलबार आयोजित एक कार्यक्रमबीच रिबन काटेर डिपोको उद्घाटन गर्नुभयो। उहाँले डिपो सञ्चालनले स्थानियवासीलाई दैनिक उपभोग्य खाद्यान्न सहज रूपमा सहुलियत दरमा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।


“पहिले सदरमुकामसम्म पुगेर चामल ल्याउनु पर्ने बाध्यता थियो, अहिले गाउँमै अनुदानमा खाद्यान्न पाउन थालेपछि जनताको जीवन सहज बन्छ,” अध्यक्ष बोहराले भन्नुभयो, “सरकारको ढुवानीमा आउने चामल सस्तो र गुणस्तरीय हुनेछ।”
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँगको समन्वयमा सो डिपो सञ्चालनमा ल्याएको हो। कम्पनीले सरकारी अनुदानको दरमा चामल बिक्री गर्नेछ।
स्थानीयहरू डिपो स्थापना भएपछि निकै खुसी भएका छन्। उनीहरूले यसले समय, खर्च र श्रम तीनै कुरामा राहत दिएको प्रतिक्रिया दिएका छन्।































