कञ्चनपुरका उदाहरणीय वडा अध्यक्ष आसेफ कुँवर: आफुले पाउने तलब ९ वर्षदेखि असहायलाई…

Image
Nisarga Hospital

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) नौ वर्षदेखि निरन्तर आफ्नै भत्ताको रकम जेष्ठ नागरिक तथा असहायलाई वितरण गर्दै आएका छन्।

CP Hospital Dhangadhi

चालु आर्थिक वर्ष २०८२/८३ मा पनि दशैँ–तिहारलाई लक्षित गर्दै पहिलो चौमासिकको सुरुवातमै उनले सोमबार जेष्ठ नागरिक र असक्तलाई भत्ता वितरण गरेका छन्। वडाध्यक्ष कुँवरले स्थानीय तह निर्वाचन २०७४ मा पहिलोपटक निर्वाचित भएपछि लगातार २०८२ सम्म पाउने सम्पूर्ण भत्ता जनताकै हितमा खर्च गर्दै आएका हुन्।

nawajiwan

Attariya Hospital

उनका अनुसार, आफूले पाउने मासिक रु. २२ हजार ४७० सम्पूर्ण रकम वडाका ७० वर्ष माथिका जेष्ठ नागरिक, असक्त तथा असाहायलाई बराबरी हिसाबले वितरण गरिन्छ। यसरी नौ वर्षमा करिब रु. २५ लाखभन्दा बढी रकम करिब १५०–१७० जनाले पाएको तथ्याङ्क वडाले सार्वजनिक गरेको छ।

‘चुनावका बेला गरेको बाचा अनुरूप पाएको सुविधा जनताकै सेवामा खर्च गर्दै आएको छु,’ वडाध्यक्ष कुँवरले भने, ‘म व्यक्तिगत लाभका लागि होइन, वडाका जेष्ठ र असहाय नागरिकलाई खुसी बनाउन यो कार्यलाई निरन्तरता दिँदै आएको हुँ।’

उनको यो पहलप्रति स्थानीयवासीले प्रशंसा गरेका छन्। लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सुविधा जनतामाझ बाँडिएकोमा खुसी व्यक्त गरिन्। दलित समुदायकी लिलादेवी दमाईले दशैँ मनाउन खर्च पाउँदा राहत भएको बताइन्। जेष्ठ नागरिक हरसिह डगौराले ‘निजी सुविधा त्यागेर जनताको हितमा काम गरेकोमा’ वडाध्यक्ष कुँवरलाई आभार व्यक्त गरे।