
बझाङः सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङका डीएसपी दुर्गा प्रसाद भट्टको नेतृत्वमा भएको रक्तदान कार्यक्रममा जिल्ला अस्पताल बझाङमा सशस्त्र प्रहरी बलका पदाधिकारीहरूले रक्तदान गरेका थिए ।

सशस्त्र प्रहरी बलको यो कदमले जिल्लामा रक्त संकटको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला अस्पतालका मेसु डा सन्दीप ओखेडाले बताउनुभयो ।रक्तदान कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले पनि रक्तदान गर्नु मानवीय कर्तव्य भएको जनाउँदै आगामी दिनमा पनि यस्ता सेवा कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।


सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको ७ औँँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । स्थापना दिवसको अबसरमा सुर्मा देबी मन्दीर र भवानी मन्दीर सरसफाइ गर्नुका साथै विभिन्न विद्यालयमा विभिन्न सचेतना मूलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङका डीएसपी दुर्गा प्रसाद भट्टले बताउनुभयो ।
यही कार्तिक १३ गते विभिन्न कार्यक्रम गरेर दिवसको समापन गर्ने योजना रहेको पनि डिएसपि भट्टको भनाइ रहेको छ ।
दैवी प्रकोप, अन्य समस्यामा सशस्त्रले जिल्ला सुरक्षा समितिको मातहतमा रहेर सहयोग गर्दै आएको छ । त्यस बाहेक जनतालाई दुर्घटनाबाट बचाउन सचेतना अभियान र प्रकोप नियन्त्रणबारे सशस्त्रले घटना अभ्यास पनि गराउँदै आएको छ ।































