
बझाङः बझाङको खप्तडछान्ना गाउँपालिका–३ स्थित लम्तडा आधारभूत स्वास्थ्य केन्द्रमा नवजात शिशुको स्वास्थ्य उपचारका लागि एक थान ‘बेबी वार्मर’ उपकरण जडान गरिएको छ। ग्रामीण तथा विकट क्षेत्रमा जन्मिने नवजात शिशुको स्वास्थ्य सुरक्षा र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले एक्सन फर नेपालले उक्त उपकरण स्वास्थ्य केन्द्रलाई सहयोग गरेको हो।

नवजात शिशुको शरीरको तापक्रम सन्तुलित राख्न महत्वपूर्ण मानिने बेबी वार्मर उपकरण स्वास्थ्य केन्द्रमा उपलब्ध भएपछि स्थानीयस्तरमै नवजात शिशुको उपचार सेवा थप प्रभावकारी र सुरक्षित बन्ने अपेक्षा गरिएको छ। विशेषगरी जन्मिएलगत्तै शरीरको तापक्रम कम हुने जोखिममा रहेका शिशुलाई आवश्यक न्यानोपन प्रदान गर्न उपकरण उपयोगी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
खप्तडछान्ना गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक दिनेश सिंहका अनुसार बेबी वार्मरमा जडित ताप नियन्त्रण प्रविधिले नवजात शिशुको शरीरको तापक्रम आवश्यक स्तरमा राख्न सहयोग गर्छ। यसबाट सामान्य अवस्थाका साथै विशेष निगरानी आवश्यक पर्ने नवजात शिशुको प्रारम्भिक उपचारमा समेत सहजता पुग्ने विश्वास गरिएको छ।


विगतमा आवश्यक उपकरणको अभावमा नवजात शिशुको उपचार तथा व्यवस्थापनमा चुनौती हुँदै आएको अवस्थामा नयाँ उपकरण उपलब्ध भएपछि स्वास्थ्य केन्द्रको सेवा प्रवाह थप व्यवस्थित हुने स्वास्थ्य शाखाले जनाएको छ। विकट क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासअन्तर्गत उपकरण सहयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
स्वास्थ्य केन्द्रलाई प्रविधिमैत्री तथा सुविधा सम्पन्न बनाउन सहयोग गरेको भन्दै खप्तडछान्ना गाउँपालिकाको स्वास्थ्य शाखाले एक्सन फर नेपालप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणका लागि संस्थासँग निरन्तर सहकार्य, समन्वय र सहयोगको अपेक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।






























