
बझाङको जयपृथ्वी नगरपालिका–३ गजमाइलमा अविरल वर्षासँगै पहिरो थप जोखिमपूर्ण बन्दै गएको छ। पहिरो निरन्तर खसिरहेका कारण आसपासका पडेश बस्ती तथा जिल्ला सदरमुकाम चैनपुर बजार क्षेत्रका स्थानीयमा त्रास बढेको छ।

वर्षाका कारण पहिरोबाट ठूला ढुंगा र माटो खस्ने क्रम नरोकिएपछि पहिरो तल बगिरहेको सेती नदीसम्म पुगेर नदी थुनिन सक्ने जोखिम देखिएको छ। नदी थुनिएमा आसपासका तटीय क्षेत्र, पडेश बस्ती र चैनपुर बजारसमेत डुबानमा पर्न सक्ने भन्दै स्थानीयले तत्काल जोखिम न्यूनीकरणका उपाय अपनाउन माग गरेका छन्।
स्थानीयले पहिरोको वर्तमान अवस्थाबारे प्राविधिक अध्ययन गरी सम्भावित जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। लगातार वर्षा भइरहेकाले पहिरो आसपास आवतजावत गर्दा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।


सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायले केही महिनाअघि नै गजमाइल क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा नगरपालिकाको सीमित बजेटबाट पहिरोको दीर्घकालीन व्यवस्थापन सम्भव नदेखिएको र ठूलो बजेट आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो।
नगर प्रमुख चेतराज बजाल, उपप्रमुख रतनबहादुर सिंह, ऐन महर र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारीले प्रदेश सरकारलाई अवस्थाबारे जानकारी गराएका थिए। नगर प्रमुख बजालका अनुसार प्रदेश सरकारले चासो देखाउँदै सिँचाइ तथा जलस्रोत कार्यालयलाई लागत अनुमान (स्टमेट) तयार गरी पठाउन पत्राचार गरेको छ।






























