
बझाङको सुर्मा गाउँपालिकामा पछिल्लो तीन आर्थिक वर्षमा तीन जनामा कालाजार संक्रमण पुष्टि भएको छ। नयाँ बिरामी भेटिएपछि स्वास्थ्य कार्यालय बझाङले रोग फैलिन नदिन प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य थालेको छ।

स्वास्थ्यकर्मीको टोलीले सुर्मा गाउँपालिका तथा सदरमुकाम चैनपुरका प्रभावित क्षेत्रमा घर, गोठ र ओसिलो स्थानमा कीटनाशक विषादी छर्कन सुरु गरेको छ। साथै, समुदायमा लक्षण भएका सम्भावित बिरामीको खोजपड्तालसमेत तीव्र पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीका अनुसार कालाजार हुँदा दुई साताभन्दा बढी लगातार ज्वरो आउने, तौल घट्ने, अत्यधिक कमजोरी हुने, रक्तअल्पता देखिने तथा फियो र कलेजो सुन्निएर पेट फुल्ने जस्ता लक्षण देखिन सक्छन्। छालाको रङ गाढा हुँदै जानु पनि यसको लक्षण हुनसक्ने उनले बताए।


कालाजार ‘स्यान्ड फ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट सर्ने भएकाले घर वरपरका झाडी सफा राख्न, सुत्दा झुलको प्रयोग गर्न र शरीर पूरै ढाकिने कपडा लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
ज्वरो आएमा हेलचेक्र्याइँ नगरी नजिकको स्वास्थ्य चौकी वा जिल्ला अस्पतालमा गई निःशुल्क परीक्षण तथा उपचार गराउन प्रमुख धामीले जिल्लावासीलाई आग्रह गरेका छन्। समयमै उपचार नपाए कालाजार घातक हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।






























