
अत्तरियाः चाडपर्वको खुसी सबैसँग बाँड्ने र आर्थिक अभावमा रहेका बालबालिकाको अनुहारमा मुस्कान ल्याउने उद्देश्यसहित कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विपन्न विद्यार्थी तथा उनीहरूका परिवारलाई खाद्यान्न र कपडा वितरण गरेको छ। बडादशैँ तथा शुभ दीपावलीको अवसर पारेर विद्यालयले सञ्चालन गरेको यस मानवीय अभियानले आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने सामाजिक सन्देश दिएको छ।

विद्यालयमा अध्ययनरत अत्यन्तै गरिब तथा विपन्न अवस्थाका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको खाद्यान्न बैंकबाट १ हजार २६६ किलोग्राम खाद्यान्न र कपडा बैंकबाट १७ थान नयाँ कपडा वितरण गरिएको विद्यालयले जनाएको छ। खाद्यान्न तथा कपडा वितरणसँगै विद्यार्थी र विद्यालय परिवारबीच दशैँको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यार्थीको शैक्षिक अवस्था, नियमित उपस्थिति र आत्मविश्वासमा देखिएका समस्याबारे अध्ययन गर्ने क्रममा उनीहरूको पारिवारिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पाइएको थियो। पढाइमा कमजोर देखिने, नियमित विद्यालय नआउने र आत्मविश्वासको कमी भएका विद्यार्थीको वास्तविक अवस्था बुझ्न विद्यालयले उनीहरूको घरमै पुगेर अध्ययनसमेत गरेको थियो।
घरदैलो अध्ययनका क्रममा कतिपय विद्यार्थी भोकै विद्यालय आउनुपर्ने, घरायसी वातावरण तनावपूर्ण हुने तथा आर्थिक अभाव र पारिवारिक विखण्डनका कारण बालबालिकाको पठनपाठन प्रभावित भइरहेको पाइएको प्रधानाध्यापक महताले बताए। विद्यालयमा अभिभावकविहीन तथा अत्यन्तै नाजुक आर्थिक अवस्था भएका परिवारका बालबालिकासमेत अध्ययनरत रहेकाले उनीहरूलाई आधारभूत आवश्यकताबाट वञ्चित हुन नदिन खाद्यान्न तथा कपडा बैंक स्थापना गरी सहयोग अभियान अघि बढाइएको उनको भनाइ छ।
‘आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ प्रधानाध्यापक महताले भने।
उनका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा ‘एक जनाले एक किलो भए पनि अन्नदान गर्ने’ अवधारणासहित खाद्यान्न संकलन अभियान सुरु गरिएको हो। यसरी संकलित खाद्यान्न समस्यामा रहेका विद्यार्थीका परिवारलाई प्रत्येक महिनाको अन्त्यमा वितरण गर्ने योजना विद्यालयले बनाएको छ।
खाद्यान्न र कपडाजस्ता आधारभूत आवश्यकतामा सहयोग गर्दा विद्यार्थीमा अपनत्व, सम्मान र खुसीको अनुभूति बढ्नुका साथै नियमित उपस्थिति तथा पढाइमा समेत सकारात्मक सुधार आउने अपेक्षा गरिएको महताले बताए। उनले अत्यन्तै विपन्न, अभिभावकविहीन तथा सहाराको आवश्यकता भएका विद्यार्थीको पठनपाठन सहज बनाउन सम्बन्धित निकाय, संघसंस्था र सहयोगी मन भएका व्यक्तिहरूलाई सहयोगका लागि आग्रहसमेत गरेका छन्।
यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले ‘हुनेले दिने, नहुनेले लैजाने’ मूल भावनासहित अभियान सञ्चालन गरिएको बताए। दैनिक गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेका विद्यार्थी तथा उनीहरूका परिवारलाई लक्षित गरी सहयोग कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।
भट्टराईका अनुसार दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले शैक्षिक गतिविधिसँगै विभिन्न सामाजिक तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामुदायिक विद्यालय विद्यार्थीलाई शिक्षा प्रदान गर्ने संस्थामात्र नभई समाजमा रहेका समस्या पहिचान गरी समाधानका लागि सहकार्य गर्ने सामाजिक उत्तरदायी संस्था पनि हुनुपर्ने उनको भनाइ छ।
‘हामीले विद्यालयलाई शिक्षाको केन्द्रका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रूपमा पनि अघि बढाउन खोजेका छौँ। एउटा विद्यालयले गरेको यस्तो प्रयासबाट अन्य विद्यालयले पनि प्रेरणा लिन सकून् भन्ने हाम्रो अपेक्षा छ,’ अध्यक्ष भट्टराईले भने।
उनले आगामी दिनमा पनि वास्तविक रूपमा सहयोगको आवश्यकता भएका विद्यार्थी तथा विपन्न परिवारको पहिचान गरी थप सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय परिवार, अभिभावक, विद्यार्थी र समुदायबीच सहकार्य बढाउँदै आवश्यकतामा रहेका बालबालिकालाई सहयोग गर्ने संस्कृतिको विकास गर्न अभियानले प्रेरणा दिने उनको विश्वास छ।
दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको यो प्रयासले चाडपर्वको खुसी बाँड्नुका साथै आर्थिक अभावमा रहेका बालबालिकाको शैक्षिक भविष्यप्रति समाजलाई संवेदनशील बन्न प्रेरित गरेको छ। शिक्षासँगै मानवीयता, सहयोग र सामाजिक उत्तरदायित्वलाई जोड दिएको यस अभियानले सामुदायिक विद्यालयले समुदायको सुखदुःखमा समेत साथ दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
































