
आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले राजधानीको गुरुयोजना तथा संरचना निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।
कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। राजधानी निर्माणका लागि आवश्यक जग्गा प्राप्ति हुन नसक्दा भौतिक संरचना निर्माणको कामसमेत अन्योलमा रहेको छ।
प्रदेशको स्थायी राजधानी निर्माणलाई प्रदेशको प्रशासनिक तथा संस्थागत विकाससँग जोडेर हेरिएको छ। तर, राजधानी घोषणा भएको लामो समय बितिसक्दा पनि आवश्यक पूर्वाधार निर्माणले गति लिन सकेको छैन।
यसपटक गुरुयोजना तथा संरचना निर्माणका लागि बजेट विनियोजन गरिए पनि उक्त रकमबाट राजधानी निर्माणको प्रक्रिया कति अघि बढ्छ भन्ने विषय कार्यान्वयनमा निर्भर रहनेछ। राजधानी निर्माणका लागि जग्गा व्यवस्थापन र आवश्यक पूर्वाधार विकासको काम अघि बढाउनु प्रदेश सरकारका लागि प्रमुख चुनौतीका रूपमा रहेको छ।
































