
कञ्चनपुर : बर्खायामका कारण बन्द गरिएको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी मंगलबारदेखि खुला गरिने भएको छ। दसैं–तिहारको अवसरमा घुमफिरका लागि आउने पर्यटकलाई लक्षित गर्दै निकुञ्जले सफारी सञ्चालन गर्न लागेको हो।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार वर्षा भइरहेकाले सबै रुटमा सफारी सञ्चालन गर्न सम्भव नभए पनि मुख्य रुट खुला गरिएको छ। दसैं–तिहारमा घर फर्किने तथा घुमफिरका लागि आउने पर्यटकलाई ध्यानमा राखेर सफारी सञ्चालनको व्यवस्था मिलाइएको उनले बताए।
उनका अनुसार निकुञ्जको मुख्यालय मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै पुनः मझगाउँ फर्किने रुट सफारीका लागि खुला गरिएको छ।

निकुञ्जको प्रमुख आकर्षणका रूपमा रहेको विशाल शुक्लाफाँटा घाँसे मैदानसम्म पुग्ने बाटोसमेत सफा गरिएको छ। पर्यटकलाई सहज रूपमा घाँसे मैदानसम्म पुग्ने वातावरण बनाउन निकुञ्जले आवश्यक तयारी गरिरहेको छ।
यसैगरी, घाँसे मैदान व्यवस्थापनको काम पनि भइरहेको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए। उनका अनुसार दसैंअघि करिब २० हेक्टर क्षेत्रफलको घाँसे मैदान व्यवस्थापन गर्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु तथा जैविक विविधताका लागि प्रसिद्ध छ। यहाँको विशाल घाँसे मैदानमा बाह्रसिङ्गाको ठूलो झुण्ड अवलोकन गर्न सकिने भएकाले निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। जंगल सफारी खुला भएसँगै दसैं–तिहारमा निकुञ्ज घुम्न आउने पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।































