
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गमा रहेको पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड स्थापना गरिएको छ। उक्त बोर्डको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक समारोहबीच उद्घाटन गरेका हुन्।

डिजिटल बोर्डमार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। आधुनिक प्रविधिको प्रयोगबाट धनगढीको सौन्दर्य अभिवृद्धि गर्नुका साथै सूचना तथा सन्देश प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल, सांस्कृतिक पहिचान र धनगढी उपमहानगरपालिकाका विभिन्न रचनात्मक कार्यक्रमसम्बन्धी सामग्री प्रदर्शन गरिनेछ। यसबाट प्रदेशका सम्भावनालाई थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

डिजिटल प्रविधिको प्रयोगले धनगढीलाई प्रविधिमैत्री सहरका रूपमा विकास गर्नसमेत योगदान पुर्याउने उपमहानगरपालिकाको अपेक्षा छ। समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यअनुरूप सूचना प्रविधिलाई प्राथमिकता दिँदै आएको उपमहानगरपालिकाले जनाएको छ।
कार्यक्रमकै अवसरमा उपमहानगरपालिकाले तयार पारेका ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारा अंकित २३ वटा प्रवर्द्धनात्मक पुस्तिकासमेत विमोचन गरिएको थियो। ती पुस्तिकामा सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रबारे विस्तृत जानकारी समेटिएको छ।
डिजिटल बोर्ड र प्रवर्द्धनात्मक पुस्तिकामार्फत प्रदेशको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
































