
धनगढी: बझाङको केदारस्युँ गाउँपालिका–२ की ४२ वर्षीया गीता विष्टका लागि जीवनका सुरुवाती दिनहरू अरूका लागि जस्ता सहज रहेनन्। उनी जन्मिँदै ओठ फाटेको समस्यासहित जन्मिएकी थिइन्। बाल्यकालमा आफ्नो अवस्थाबारे उनलाई त्यति धेरै जानकारी थिएन। तर उमेर बढ्दै जाँदा आफ्नो अनुहार अरूको भन्दा फरक रहेको महसुस हुन थाल्यो। साथीभाइसँग घुलमिल हुँदा, अरूका अगाडि पर्दा वा कसैसँग खुलेर कुरा गर्नुपर्दा उनलाई अप्ठ्यारो लाग्थ्यो।

आफ्नो शारीरिक अवस्थाकै कारण कतिपय अवस्थामा उनी संकोच मान्थिन्। अरू मानिसको अगाडि जान र खुलेर बोल्नसमेत हिचकिचाउँथिन्। समय बित्दै गयो। उनले जीवनसँग सम्झौता गर्न सिकिन्। विवाह भयो। घरपरिवारको जिम्मेवारी थपियो। पाँच छोरीकी आमा बनिन्। आफ्नै जस्तो समस्या छोरीहरूमा नदेखिएपछि उनलाई केही राहत महसुस भएको थियो।
तर जीवनले फेरि त्यही पुरानो पीडा सम्झाउने परिस्थिति ल्यायो।
११ महिनाअघि छैटौँ सन्तानका रूपमा छोराको जन्म हुँदा गीता निकै खुसी थिइन्। पाँच छोरीपछि छोरा जन्मिएको खुसी परिवारमा थियो। तर नवजात शिशुको अनुहार हेर्दा उनको खुसी एकाएक चिन्तामा बदलियो। छोरामा पनि आफूलाई जस्तै जन्मजात ओठ फाटेको समस्या देखियो।
आफूले ४२ वर्षसम्म भोग्दै आएको अप्ठ्यारो अब छोराले पनि भोग्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थाल्यो। आफूले त जीवन बिताउन सिकिसकेकी थिइन्, तर आफ्नो सन्तानले पनि त्यही पीडा भोग्नुपर्ने अवस्था आउला भन्ने सोचले उनको मन भारी भयो। छोराको भविष्य सम्झेर उनी चिन्तित बनिन्।
गीताले छोरालाई बझाङकै देउरा स्वास्थ्य चौकीमा जन्म दिएकी थिइन्। त्यतिबेला स्वास्थ्यकर्मीले बच्चाको उपचार सम्भव हुने भन्दै डडेल्धुरा लैजान सुझाव दिएका थिए। छोराको उपचार हुने आशामा परिवार डडेल्धुरातर्फ लाग्यो। तर त्यहाँ बुझ्दा उपचार सम्भव नहुने जानकारी पाएपछि उनीहरू निराश भए।
छोराको उपचार कहाँ र कसरी गराउने भन्ने अन्योल भइरहेका बेला गाउँकै स्वास्थ्यकर्मी अमर विष्टले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा ओठ फाटेको समस्याको उपचार हुने जानकारी दिए। त्यसपछि गीताका आफन्तले उनलाई ११ महिने छोरा अनिस विष्टसहित धनगढी ल्याउने निर्णय गरे।
उपचारका लागि अस्पताल पुग्दासम्म परिवारको एउटै अपेक्षा थियो– छोराको ओठको समस्या निको होस्। तर निसर्ग अस्पताल पुगेपछि उनीहरूले अर्को सुखद जानकारी पाए। छोराको मात्रै होइन, ४२ वर्षदेखि ओठ फाटेको अवस्थामै जीवन बिताइरहेकी गीताको पनि उपचार सम्भव रहेछ।
आफूले वर्षौंदेखि भोग्दै आएको समस्याको उपचार हुन्छ भन्ने थाहा नपाएकी गीताका लागि यो खबर अप्रत्याशित खुसी बनेर आयो। छोराको उपचार गराउन आएकी उनी आफैँ पनि उपचार पाउने भएपछि भावुक भइन्। अन्ततः अस्पतालमा आमा र छोरा दुवैको ओठ फाटेको समस्याको निःशुल्क उपचार भयो।
‘मैले त आफ्नो समस्यासँगै बाँच्न सिकिसकेकी थिएँ। अरूको अगाडि जान, बोल्न पनि लाज लाग्थ्यो। अब त त्यो अप्ठ्यारो हुँदैन होला। म त छोराको मात्रै उपचार होस् भन्ने सोचेर आएकी थिएँ। आफ्नो पनि उपचार हुने भयो,’ गीताले खुसी हुँदै भनिन्, ‘छोराको उपचार होला भन्ने आशा थियो, तर मेरो पनि उपचार हुन्छ भन्ने सोचेकी थिइनँ। आज दुवैको उपचार भयो। घर फर्किंदै छु। उपचारमा एक रुपैयाँ पनि खर्च लागेन।’
ओठ तथा तालु फाटेको समस्या भएका बिरामीलाई निसर्गमा निःशुल्क उपचार
धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले गैरनाफामूलक संस्था स्माइल ट्रेनको सहकार्यमा जन्मजात ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क उपचार हुँदै आएको छ ।
यसअन्तर्गत बिरामीको शल्यक्रिया, अस्पताल भर्ना, औषधि तथा आवश्यक परीक्षणको सम्पूर्ण खर्च निःशुल्क गरिनुका साथै यातायात खर्च र बिरामीका कुरुवालाई खान तथा बस्नको व्यवस्था पनि अस्पतालले गरेको छ।
सुदूरपश्चिममै पहिलोपटक सुरु गरिएको यस सेवाबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकाले समेत सहज रूपमा उपचार पाउने अस्पतालले जनाएको छ।



























