चैतन्य पाठशालाको यू–१४ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक, ३२ विद्यालयका टोली भिड्ने

Image
Nisarga Hospital

धनगढीः चैतन्य पाठशालाको आयोजनामा सञ्चालन हुन लागेको ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ। मंगलबार धनगढीस्थित चैतन्य पाठशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहकार्यमा आयोजना हुने प्रतियोगिता मंसिर २५ देखि पुस ९ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ।

‘फुटबल फर स्कूल : रोड टु वर्ल्ड कप’ कार्यक्रमसँग जोडिएको प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरबाटै फुटबल प्रतिभा पहिचान गर्नु, बालबालिकामा खेलप्रति रुचि बढाउनु तथा जिल्लामा फुटबलको विकास र प्रवर्द्धन गर्नु रहेको आयोजक चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए।

उनका अनुसार प्रतियोगिता यस वर्षदेखि सुरु गरी हरेक वर्ष सञ्चालन गरिनेछ। आगामी दिनमा प्रतियोगितालाई प्रदेशस्तरीय बनाउँदै थप व्यवस्थित र परिस्कृत गर्ने योजना रहेको उनले जानकारी दिए। विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनको आधार विद्यालयस्तरबाटै तयार गर्नुपर्नेमा उनले जोड दिए।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले प्रतियोगितामार्फत १५ वर्षमुनिको साफ च्याम्पियनसिपका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्यसमेत रहेको बताए। उनले चैतन्य पाठशालासँगको सहकार्यले जिल्लामा ग्रासरुट फुटबल विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सदस्यसचिव खड्काले शिक्षासँगै खेलकुद र समाजसेवाको क्षेत्रमा चैतन्य पाठशालाले योगदान गर्दै आएको बताए। उनले खेलकुद गतिविधि प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा कैलालीका ३२ विद्यालय सहभागी हुनेछन्। छात्रतर्फ १६ र छात्रातर्फ १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा २० खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित २३ जना रहने आयोजकले जनाएको छ। यसअनुसार ३२ टोलीबाट मात्रै ७३६ जनाको प्रत्यक्ष सहभागिता हुनेछ। प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

विद्यालयस्तरमा छात्रछात्राको खेल सहभागिता बढाउँदै भविष्यका प्रतिभावान् फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताले राखेको आयोजकले जनाएको छ।