
इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै आएकी नेपालकी मेनुका पौडेल उत्कृष्ट १० मा पर्न सफल भएकी छन्।

असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा परेको घोषणा आइतवार साँझ प्रसारित कार्यक्रममा भएको हो।
आशा भोसलेको “कजरा मोहब्बत वाला” र “पान खाए सैयाँ हमारो” बोलका दुई वटा गीत गाए लगत्तै उनलाई तीनै जना निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले सधैँ जसो ‘स्ट्यान्डिङ ओवेशन’ दिएका थिए।

गीत सकिए लगत्तै घोषालले सधैँ लता मङ्गेशकरका गीत छान्ने मेनुकाले यो एपिसोडका लागि आशा भोसलेको गीत छानेर ‘सप्राइज’ दिएको बताइन्।पछिल्लो एउटा एपिसोडमा गीत गाउँदा गाउँदै मेनुका रोकिएकी थिइन्।
उनले आफ्नो मुटुको धड्कन बढेको भन्दै गाउन रोकेर केही समयपछि पुनः गाएकी थिइन्। तर त्यसपछिको एपिसोडमा मेनुकाले आफ्नो ‘कम्फर्ट जोन’ अर्थात् सहजता छोडेर चुनौती लिएको र राम्ररी गाएको भन्दै गायिका घोषालले तारिफ गरिन्।

“यो त एकदमै सप्राइज भयो। सधैँ लताजीको गीत छान्ने मेनुकाले आज आशाजीको गीत छानिन् र त्यो पनि पूरै हाउभाउ, अभिनयसहित गाइन्,” घोषालले भनिन्।
“आजको एपिसोड महत्त्वपूर्ण हो। पहिला दुई वटा एपिसोडमा मेनुका लडखडाएकी थिइन्। गीतका शब्दहरू बिर्सेकी थिइन्। तर आज उनले यो जोखिम मोलिन्। आफ्नो कम्फर्ट जोनबाट निस्केर यस्तो गीत चुनिन् जुन उनको शैलीको गीत होइन।”
जुन दुई वटा गीत मेनुकाले गाइन् त्यस्तो खालको गीत आफूले अपेक्षा नै नगरेको उनले बताइन्।
“त्यसैले म तिम्रो लागि धेरै खुसी छु। यो नै तिम्रो खास कुरा हो र यसैलाई कायम राख्दै आएकी छौ। यसैले तिमीलाई उत्कृष्ट १० बाट उत्कृष्ट ३ सम्म लैजानेछ।”
बिबिसी नेपाली बाट साभार




























