गोर्खा वारियरको ट्रेलरले दियो हलिउड फिल्मको आभास

Image
Nisarga Hospital

काठमाडौं : एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहिबार काठमाडौंको विश्वज्योति सिनेमामा एक समारोहबीच सार्वजनिक गरिएको छ । मिलन चाम्सद्धारा निर्देशन गरिएको यो चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार रिलिज गरिएको छ ।

CP Hospital Dhangadhi

यस अघि फस्ट लुक्स र टिजर सार्वजनिक गरेपछि चलचित्र गोर्खा वारियरप्रति दर्शकको चासो निकै बढेको थियो । यसै क्रममा यो चलचित्रको ट्रेलरलाई रिलिज समारोहमा सञ्चारकर्मी तथा सिनेकर्मीले खुलेर प्रसँसा गरेका छन् । गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया प्राप्त भईरहेको छ ।

२ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सँघर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको कथामा यो चलचित्र केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कती कठिन थियो र सो युद्धमा गोर्खा सैनिकहरुले कति सँघर्ष गर्नु पर्यो भन्ने कुराको साराँस आज रिलिज ट्रेलरमा देखाईएको छ ।

nawajiwan

अरु चलचित्रको ट्रेलरमा सम्बन्धित सिनेमाको कथा लुकाईए पनि गोर्खा वारियरको ट्रेलरमा यो चलचित्रको सँक्षिप्त कथा खुलाईएको छ । थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको निर्देशक चाम्सले सो कार्यक्रममा प्रकाश पारे । तथापि सिनेमा भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।

कार्यक्रममा बोल्दै निर्देशक चाम्सले भने,‘बीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । बीरताका ती कथा बिस्तारै हराउँदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेका हौं ।’ अन्तराष्ट्रिय जगतमा दर्शकको मन जितेको यो चलचित्रले नेपालका दर्शकको पनि मन जित्ने विश्वास उनले व्यक्त गरे ।

Attariya Hospital

यो चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी पश्चात आज अभिनेताको रुपमा यो सिनेमामा आफु आएको बताए । आफु गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफुलाई केही सजिलो भएको उनले बताए ।

यो चलचित्रको ट्रेलर अनुसार ३१ अगष्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेशिया) त्यसअघि बेलायतको अधिनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका बिद्रोही समुहले १९४० को सुरुवात देखिनै बेलायती शासक बिरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए । सुरुको चरणमा बेलायती सैनिकलाई समेत ति बिद्रोहीहरुले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुन पठाईएको गोर्खा सैनिकले मलायाको जँगलमा सन १९४९ मा गरेको भिषण युद्धको झलक ट्रेलरमा समेटिएको छ । युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाईन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ ।

चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो ।

यो चलचित्र नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।
यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।
यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।