
डोटी: आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी एम्बुलेन्स सेवा सुरू गरेका हुन्।


अध्यक्ष खड्काले आपतकालीन तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीहरूलाई बाहिर उपचारका लागि सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको बताए। उनले भने, “गाउँघरमै उपचार सम्भव नभए बाहिर जानुपर्ने अवस्था आउँछ, त्यसका लागि सर्वसुलभ दरमा सेवा उपलब्ध गराउनेछौं।”
भौगोलिक रूपमा पालिका केन्द्रबाट टाढा रहेको वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले आफ्नै स्रोतबाट एम्बुलेन्स खरिद गरेको जनाएको छ।
एम्बुलेन्स उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाया, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
































