
धनगढी: अछामबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार बिहान डोटीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार ना ५ ख २६२ नम्बरको बस बिहान करिब ४ बजे डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। भीमदत्त राजमार्गअन्तर्गत प्रहरी प्रशिक्षण स्थल बुडर जाने बाटो नजिक बस सडकको दायाँतर्फ रहेको नालीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाजुराको बुढीगंगा गाउँपालिका–७ की ७० वर्षीया गोमा खड्का, बाँकेको जानकी गाउँपालिका–३ की ४६ वर्षीया मनिषा बुढा घाइते भएका छन्।
त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–६ की २५ वर्षीया डम्मरा विक, २३ वर्षीया केशरी विक र २१ वर्षीया सिर्जना भट्ट पनि घाइते भएका छन्।
घाइते पाँचै जनालाई थप उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ। बस अछामको साँफेबगर नगरपालिका–३ का २६ वर्षीय आकाश कुँवरले चलाएका थिए। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।



























