धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन, अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरको सुरक्षित तथा वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। सरसफाइ, उज्यालो र हरित अभियानलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले वडा नम्बर २ मा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो। केन्द्रको वडाध्यक्ष धर्मराज ओझाले उद्घाटन गरेका छन्।

CP Hospital Dhangadhi

धनगढीका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरलाई सङ्कलन गरी निःसंक्रमणपछि सुरक्षित व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र सञ्चालन गरिएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। उनका अनुसार अब अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थित रूपमा सङ्कलन गरी केन्द्रमार्फत व्यवस्थापन गरिनेछ।

उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि निःसंक्रमण नगरिएको फोहोरको प्रतिकेजी ६० रुपैयाँ र निःसंक्रमण गरिएको फोहोरको प्रतिकेजी ३५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।

वातावरण शाखा प्रमुख अशोक अवस्थीका अनुसार नेपाल सरकारको ऐन तथा कानुनअनुसार उपमहानगरपालिकाले आफ्नै सवारीसाधन प्रयोग गरी स्वास्थ्यजन्य फोहोर सङ्कलन गर्नेछ। सङ्कलित फोहोर केन्द्रमा ल्याएर पहिले सङ्क्रमणरहित बनाइने र त्यसपछि टिन तथा प्लास्टिकलगायतका सामग्री छुट्याएर व्यवस्थित रूपमा व्यवस्थापन गरिनेछ।

नगरप्रमुख गोपाल हमालले धनगढीलाई फोहोर व्यवस्थापनको क्षेत्रमा नेपालकै नमुना नगरपालिका बनाउने अभियानअन्तर्गत सामुदायिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए। केन्द्र सञ्चालनमा आएपछि विशेषगरी आफ्नै व्यवस्थापन केन्द्र नभएका साना अस्पताल तथा स्वास्थ्य संस्थालाई ठूलो राहत पुग्ने उनको भनाइ छ।

उनले १०० शय्या भएका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र बनाउनुपर्ने व्यवस्था रहे पनि साना अस्पतालमा त्यस्तो सुविधा नहुँदा स्वास्थ्यजन्य फोहोर जथाभावी फालिने समस्या देखिएको बताए। अब उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा थप कडाइ गर्ने र सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने उनले स्पष्ट पारे।

धनगढीलाई स्वच्छ, सफा र व्यवस्थित सहर बनाउने अभियान सफल पार्न नगरवासी, अस्पताल तथा स्वास्थ्य संस्थासहित सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको नगरप्रमुख हमालले बताए।