
धनगढीः सुदूरपश्चिमवासीको दशकौँदेखिको संघर्ष, त्याग र बलिदानबाट स्थापित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालय) लाई विवादमा नतान्न र तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सञ्चालन प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्दै एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको पठनपाठन तत्काल सुरु गर्न सरकारसँग माग गरेको हो।

समितिले विश्वविद्यालय सञ्चालनका विषयमा पटकपटक विवाद सिर्जना गरी प्रक्रिया अवरुद्ध पार्ने गतिविधि भइरहेको भन्दै प्रधानमन्त्री तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो भने मुख्यमन्त्री खगराज भट्टलाई प्रत्यक्ष रूपमा बुझाइएको समितिले जनाएको छ।
संघर्ष समितिले विश्वविद्यालय ऐन संशोधन, एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको सिट निर्धारण, पदाधिकारी नियुक्ति तथा बर्खास्तीजस्ता विषयलाई लिएर उत्पन्न विवाद तत्काल समाधान गर्न आग्रह गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन तथा गुणस्तरीय सेवा आवश्यक भए पनि त्यसका नाममा सुदूरपश्चिमको ऐतिहासिक उपलब्धिलाई अन्योलमा पार्न नहुने समितिको भनाइ छ।
समितिले विश्वविद्यालयअन्तर्गत सञ्चालित शिक्षण अस्पताललाई अत्याधुनिक उपकरणसहित ६०० शैयाको पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश तथा स्थानीय पालिकाका नागरिकलाई उपचार सेवामा ५० प्रतिशत छुट, शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।
यसैबीच, प्रा. डा. गोविन्द केसीले विगतका सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएको विषयप्रति पनि संघर्ष समितिले आपत्ति जनाएको छ। सहमति कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि त्यसका नाममा गेटा विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रियालाई अनिश्चित बनाउने दबाब स्वीकार्य नहुने समितिले स्पष्ट पारेको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री खगराज भट्टले विश्वविद्यालय सञ्चालनमा रोक लगाउनु सरकारका लागि आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह हुने टिप्पणी गरेका छन्। उनले सुदूरपश्चिमका जनताको लामो संघर्ष र भावनासँग सरकारले खेलबाड नगर्ने अपेक्षा व्यक्त गर्दै विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, आवश्यक पहलका लागि संघीय सरकारसँग समेत छलफल गर्ने बताएका छन्।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले गेटा विश्वविद्यालय सुदूरपश्चिमवासीको दया वा कृपाबाट प्राप्त उपलब्धि नभई लामो संघर्ष र अधिकारको परिणाम भएको बताए। विश्वविद्यालय सञ्चालन रोक्ने, विद्यार्थीको भविष्य अन्योलमा पार्ने र सुदूरपश्चिमलाई चिकित्सा शिक्षाको अवसरबाट वञ्चित गर्ने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ।
उनले विश्वविद्यालय सञ्चालन प्रक्रियामा अवरोध सिर्जना भइरहे कडा संघर्षसहित सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। समितिले सरकारसँग तत्काल विवाद समाधान गरी अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सुरु हुने वातावरण सुनिश्चित गर्न माग गरेको छ।


























