
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न ३ को फोहोर ब्यावस्थापन केन्द्रको पछाडी पट्टी रहेको खुल्ला जमिनलाई गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कुरो अगाडी बढेको छ । बिहीबार नेपाल क्रिकेट सँघ (CAN) का अध्यक्ष चतुर बहादुर चन्द तथा सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका अध्यक्ष बासुदेव जोशीले गोदावरी नगरपालिकाद्वारा प्रस्तावित “गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला” को स्थलगत निरीक्षण गरेका हुन ।



गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले निरीक्षण टोलीलाई स्वागत गर्दै रंगशाला निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी गराए। उनले स्थानीय सरकार खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले क्रिकेट मैदान निर्माणलाई विशेष प्राथमिकता दिइएको बताएका छन ।

CAN का अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिममा छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सकिने धारणा व्यक्त गर्दै, नगरपालिकाका मेयर साप रङ्गशाला निर्माणको योजनालाई आवश्यक सहयोग र सुझाव दिने प्रतिबद्धता जनाए। उनले रंगशाला निर्माण भएसँगै सुदूरपश्चिमको क्रिकेट विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरे। सुदूरपश्चिम प्रदेशकै केन्द्र र सबै जिल्लाको पाईक पर्ने ठाउँमा भएकाले यस्को प्रक्रियाका लागि अगाडी बढ्न सुझाव दिएका छन ।


नगरप्रमुख भट्टका अनुसार गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको ४६ विघा खुला जमिनलाई प्रदेशकै सबैभन्दा ठूलो खेलमैदानका रूपमा विकास गर्ने योजना रहेको छ। उक्त स्थानमा ३-४ वटा क्रिकेट पिच निर्माण गर्ने निर्णय भइसकेको र आगामी दुई महिनाभित्र अभ्यास सुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

भट्टले गोदावरीमा क्रिकेटको लोकप्रियता बढ्दै गएकाले प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि सर्वेक्षण सम्पन्न भइसकेको उल्लेख गरे। खेलमैदान निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र पछाडि रहेको ४६ विघा जमिन प्रयोग गरिनेछ, जसका लागि कुनै रुखसमेत काट्न नपर्ने उनले बताए।

नगरपालिकाको बजेट मात्र पर्याप्त नहुने भएकाले अन्य निकायहरूसँग सहकार्य गर्ने योजना बनाइएको छ। नगरप्रमुख भट्टले आगामी पाँचदेखि छ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए।



















