
बैतडीको सुर्नया गाउँपालिका–८ दोरास्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइका प्रमुख कृष्णबहादुर साउँदको निधन भएको छ। उनी ११ गते राति ११ बजे आफ्नै निवास कठमडामा अचानक अस्वस्थ भई निधन भएका हुन्।

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार, साउँद तीन दिनअघि शरीरमा बिमिरा देखिएपछि उपचारका लागि डडेल्धुरा अस्पताल गएका थिए। औषधि ल्याएर फर्किएका उनले दोस्रो दिन पेट दुखेको गुनासो गरेपछि पुनः अस्पताल गएका थिए। तर, बिहीबार राति अचानक स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा उनको ज्यान जोगाउन सकिएन।

स्वास्थ्य सेवामा समर्पित साउँदको निधनले सुर्नयाको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको महराले बताए। अल्पायुमै निधन भएका साउँद एक कुशल, इमान्दार र समर्पित स्वास्थ्यकर्मीका रूपमा चिनिन्थे।

उनको निधनले गाउँ शोकमा डुबेको छ। साउँदका परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।




























