
बैतडीः जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने फेसलेस (अनुहारविहीन) सेवा सञ्चालनमा ल्याएको छ। ई–गभर्नेन्स अर्थात् विद्युतीय सुशासनको अवधारणालाई कार्यान्वयन गर्दै कार्यालयले अनलाइन माध्यमबाटै आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदाय प्रमाणित गर्ने सेवा सुरु गरेको हो।

जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सामान्य सेवा लिनसमेत सदरमुकाम पुग्नुपर्ने बाध्यता, समय र आर्थिक खर्चलाई मध्यनजर गर्दै यस्तो सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जानकारी दिइन्।
उनका अनुसार सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन्। कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक सिफारिसपत्र तयार गरी सम्बन्धित सेवाग्राही वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था मिलाइएको छ।
यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेको खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा कायम भएको हुनुपर्नेछ।
अनलाइन आवेदनका क्रममा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिसपत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रंगीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा पठाउनुपर्ने कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सुरु गरेको यो सेवाले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। अब जातीय समुदाय प्रमाणितसम्बन्धी सिफारिस लिन सदरमुकामसम्म धाउनुपर्ने बाध्यता कम हुनुका साथै नागरिकको समय, यातायात खर्च र झन्झटसमेत घट्ने विश्वास गरिएको छ।
डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवालाई सहज, छिटो र नागरिकमैत्री बनाउने प्रयासले सरकारी सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने देखिन्छ।



























