
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियास्थित सरस्वती आधारभूत विद्यालयमा बालमैत्री, अपाङ्गतामैत्री तथा भूकम्पप्रतिरोधी दुई कोठे पक्की भवन निर्माण गरिएको छ। नेपाल राष्ट्रिय समाजकल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पाठशाला परियोजनाअन्तर्गत निर्माण गरिएको भवन शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको हो।

२०८२ फागुन १५ गते निर्माण सुरु भएर २०८३ साउन ४ गते सम्पन्न भएको भवन निर्माणमा करसहित ४० लाख ४३ हजार ५४१ रुपैयाँ खर्च भएको परियोजनाका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी दिए। भवन निर्माणसँगै विद्यालयलाई प्रारम्भिक बाल विकासका सामग्री, कार्पेट, राउन्ड टेबल, बुक ¥याक, खेलकुद सामग्री, कथाका पुस्तक र स्मार्ट बोर्डसमेत उपलब्ध गराइएको छ।
त्यस्तै, पुरानो भवनको रंगरोगन तथा कक्षाकोठामा आकर्षक भित्तेलेखन गरी विद्यालयको शैक्षिक वातावरण सुधारका लागि सहयोग गरिएको छ। स्मार्ट बोर्ड खरिदमा मात्रै १ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको छ। नयाँ भवन र शैक्षिक सामग्रीले बालबालिका तथा अपाङ्गता भएका विद्यार्थीलाई सुरक्षित, सहज र समावेशी वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले नयाँ भवन र शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठन तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती : नगरप्रमुख ओझा
भवन हस्तान्तरण कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सामुदायिक विद्यालयमा भौतिक संरचना र शिक्षकको व्यवस्था हुँदाहुँदै पनि विद्यार्थी टिकाउन चुनौती भइरहेको बताएका छन्।
उनले विशेषगरी प्रारम्भिक बाल विकास (ईसीडी) तहमा भर्ना भएका विद्यार्थी अर्को वर्ष अन्य विद्यालयमा जाने प्रवृत्तिले सामुदायिक विद्यालयको विद्यार्थी संख्या घटिरहेको बताए। ‘भवन पनि राम्रा छन्, शिक्षक पनि छन् तर विद्यार्थी छैनन्। ईसीडीमा आएका विद्यार्थी अर्को वर्ष पहेँलो बस चढेर कहाँ जान्छन्, ठेगान हुँदैन,’ उनले भने।
नगरपालिकाले शिक्षाक्षेत्रमा उल्लेख्य लगानी गरिरहेको जानकारी दिँदै उनले तीन करोड ६९ लाख रुपैयाँको ठेक्का प्रक्रियामार्फत सीसीटीभी क्यामेरालगायतका सामग्री वितरण गर्ने, दुई करोड ७० लाख रुपैयाँ खर्च गरेर सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने तथा नगर शिक्षक व्यवस्थापनमा वार्षिक तीन करोड ५० लाख रुपैयाँ खर्च भइरहेको बताए।
उनका अनुसार नगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको छ। तर, यति धेरै लगानी र सुविधा उपलब्ध गराउँदा पनि विद्यार्थी सामुदायिक विद्यालयमा किन टिकिरहेका छैनन् भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ।
नगरप्रमुख ओझाले स्थानीय सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबीच समन्वय तथा छलफल गरेर शिक्षण पद्धति, शैक्षिक गुणस्तर र विद्यालयको वातावरणमा सुधार गर्नुपर्नेमा जोड दिए। विद्यार्थी संख्या बढाउन र सार्वजनिक शिक्षाप्रति अभिभावकको विश्वास कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।






























