बझाङको सुर्मा गाउँपालिकाले ३६ करोड ५६ लाखको बजेट सार्वजनिक

Image
Nisarga Hospital

बझाङः बझाङको सुर्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३६ करोड ५६ लाख ५० हजार ५ सय ३१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

मंगलबार सम्पन्न १७औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष रमला कुमारी मण्डेल पुजाराले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन्। “सुखी सुर्मा बासी” भन्ने नारासहित सार्वजनिक गरिएको बजेटले स्थानीय उत्पादन र बजारिकरणलाई प्राथमिकतामा राखेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

बजेटमा एक टोल–एक नर्सरी, एक घर–एक करेसा बारीजस्ता आत्मनिर्भर कार्यक्रमलाई जोड दिइएको छ। पशुपालन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखिएको छ। “आफ्नो काम, आफ्नो रोजगार; कृषि, निर्माण र पर्यटन हाम्रो आधार” भन्ने अर्को नारासहित स्वरोजगारमुखी योजनाहरू पनि समावेश गरिएको उपाध्यक्ष मण्डेलले जानकारी दिइन्।

सुर्मा ताल र पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि छुट्टै बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले “कर डर होइन, गाउँ विकासको भर हो” भन्ने सन्देश दिँदै कर प्रणाली सुधार र कर संकलन विस्तार गर्ने नीति अघि सारेको छ।

सभामा तीन वटा विधेयक पारित गरिनुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी—जयकरण बोहरा, दान बहादुर जेठारा र हरिचन्द्र बोहरालाई सम्मान गरिएको थियो।

गाउँसभा अध्यक्ष खड्क बोहराले आगामी दिनमा पालिका, जनप्रतिनिधि र कर्मचारीहरू सबै मिलेर विकास निर्माणमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे। उनले करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई पालिकाबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै असन्तुष्टि भए राजीनामा दिन पनि भने।

गाउँसभामा निमित्त कार्यकारी अधिकृत लक्ष्मी जोशी, पाँचै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति रहेको थियो।

Dhnagadhi & Krishanapur