
डोटीः डोटीको आदर्श गाउँपालिकाले अतिक्रमणमा परेको सरकारी जमिन हटाएर सुविधासम्पन्न अस्पतालको निर्माण थालेको छ। मौवानगरदहस्थित स्वास्थ्य चौकीसँगै रहेको ग्राम विकास समितिको ४ रोपनी ६ आना १ दाम ३ पैसा जमिन अतिक्रमणमुक्त गराई अस्पतालका लागि प्रयोगमा ल्याइएको हो।

गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गा अभाव भएपछि अतिक्रमणकारीका ९ वटा घर हटाएर निर्माण कार्य अघि बढाएको हो। कुल ३० करोडको लागतमा निर्माण भइरहेको उक्त अस्पतालको लागि गाउँपालिकाबाट १२ करोड र नेपाल सरकारबाट १८ करोड रुपैयाँ लगानी गरिएको छ।

स्थानीय समाजसेवी प्रेमनाथ ओझाले वर्षौंदेखि प्रयास गरे पनि जग्गा खाली गराउन नसकेको बताउँदै गाउँपालिकाको पहलमा सम्भव भएकोमा खुसी व्यक्त गरे। उनका अनुसार गाउँपालिका अध्यक्ष गणेशबहादुर खडकाको सक्रियताले यो काम सम्भव भएको हो।

अध्यक्ष खडकाका अनुसार, “सुविधासम्पन्न भवन निर्माण भएसँगै विशेषज्ञ चिकित्सकको दरबन्दीसहित सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।” उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि आदर्शसँगै सायल गाउँपालिकाका बासिन्दाले पनि राहत पाउनेछन्।
गाउँमा अस्पताल नहुँदा सामान्य उपचारका लागि सिलगढी र दिपायल धाउनु पर्ने बाध्यता अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्। स्थानीय युवा नेता गोविन्द खडकाले भने, “अब विशेषज्ञसहितको सेवा गाउँमै पाइने भएपछि हामी सबै खुसी छौं।”
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी (रोकाया)का अनुसार हालसम्म अस्पताल भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। “चाँडै सेवा सुरु गर्न आवश्यक उपकरणका लागि विभिन्न दातृ निकायहरूसँग छलफल भइरहेको छ,” उनले जानकारी दिइन्।

































