
बालबालिकाको क्षमता र नेतृत्व विकासलाई लक्ष्य गरेर डडेल्धुरामा तीनदिने तालिम सम्पन्न गरिएको छ। प्रगतिशील युवा समाज र वल्र्ड भिजनको आयोजना तथा जयपृथ्वीनगरपालिकाको समन्वयमा सम्पन्न तालिममा नगरभित्रका बाल क्लब सञ्जालका प्रतिनिधिहरू सहभागी थिए।

बाल संरक्षण परियोजनाअन्तर्गत सञ्चालित तालिमले बालबालिकामा आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य बोकेको परियोजना अधिकृत विनोद थापाले जानकारी दिए।
कार्यक्रममा सहभागी आनन्दी खड्काले यस्ता तालिमहरूले बोल्ने कला र आत्मप्रस्तुति कौशल विकास गर्न सहयोग पुर्याएको बताए। उनले समाजमा अझै बालबालिकाप्रति फरक दृष्टिकोण रहेको भन्दै तिनलाई समस्या होइन, समाधानको रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए। साथै, बालविवाह रोक्न सिफारिस प्रक्रिया अनिवार्य गर्नुपर्ने सुझाव दिए।



कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लभराज जोशीले बालबालिकाको समृद्धिका लागि गाउँपालिका र नगरपालिकासँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए। उनले नैतिक शिक्षाको अभाव बालबालिकामा देखिन थालेको भन्दै आगामी पुस्ता नेतृत्वमा आउने भएकाले अहिले नै उनीहरूलाई सक्षम बनाउनु आवश्यक रहेको उल्लेख गरे।
जयपृथ्वीनगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले तालिम अत्यन्तै महत्वपूर्ण भएको भन्दै सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे। समाजमा विद्यमान बालविवाह, महिनावारी र छुवाछुतजस्ता कुरीतिहरू अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए।
बोर्ड कमिटी सदस्य कल्पना शाही सिंहको अध्यक्षतामा सम्पन्न तालिममा महिला तथा बालबालिका शाखाकी मिना रेग्मी, वल्र्डभिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक मेनुका मल्ल, पत्रकार तथा बाल क्लब प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





























