
बझाङको बुंगल नगरपालिका–७ मा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। घट्ठे खोलाको मुहानमा पहिरो खसेर पानीसँग मिसिएर लेदो बनेपछि बाढीको रूप लिँदै बस्तीमा पसेको हो।

नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार बाढीले स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा पुरेको छ भने डिला लोहार र ओकिल लोहारको घर, शौचालय, धान कुट्ने मिल तथा घरभित्रको अन्नपातसमेत नष्ट भएको छ।
बाढीले ६ वटा पानी घट्ट र तिनका कुलोहरू साथै करिब ८ वटा सिँचाइ कुलो पनि बगाएको छ। स्थानीयको आस्थाको केन्द्र मानिने दहजार मन्दिर समेत लेदोले ढाकिएको छ।


वडा अध्यक्ष टंकप्रसाद जोशीको पसलमा पनि बाढी पसेको छ।
उपमेयर बोहराले बुंगल उच्च जोखिमयुक्त क्षेत्र भएको र भिरालो जमिनमा बनेका घर तथा कच्ची सडकहरूले जोखिम बढाएको बताए। नगरपालिकाले तत्काल उद्धार टोली परिचालनको तयारी गरिरहेको छ।
प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठुगन्नाका अनुसार मुचुल्का तयार गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ।




















