
अत्तरियाः भूमि समस्या समाधान आयोग कैलालीले जिल्लाका भूमिहीन दलित र सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखी लालपुर्जा वितरणको तयारी गरेको छ। आयोगका अनुसार भदौ मसान्तभित्र धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकामा लालपुर्जा वितरण सुरु हुने भएको छ।

आयोगका अध्यक्ष यज्ञराज उपाध्यायका अनुसार पहिलो चरणमा जग्गा भोगचलन गरिरहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई प्राथमिकतामा राखिएको छ। उनले भने, ‘नापचाँजको काम लगभग सम्पन्न भएको छ। पुर्जा बनाउने र प्रमाणीकरण गर्ने काम भइरहेको छ। आयोग र स्थानीय तहका कर्मचारी त्यसमा जुटिरहेका छन्।’
उनका अनुसार जिल्लाका १३ वटै पालिकामा आयोगले काम गरिरहेको छ। सीमित स्रोत र कर्मचारीको अभावबीच पनि आयोगले कामलाई तीब्रता दिएको उनले बताए। बाँकी तीन पालिकामा जग्गा नापजाँचको काम छिट्टै सम्पन्न हुने समेत जानकारी दिए।


जिल्लाभरबाट १ लाख ४० हजार ३५८ निवेदन आयोगमा दर्ता भएका छन्। जसमा भूमिहीन दलितका ७ हजार ६३१, भूमिहीन सुकुम्बासीका १३ हजार ९१४ र अव्यवस्थित बसोबासीका १ लाख १८ हजार ८१३ निवेदन रहेका छन्।
त्यस्तै, अघिल्लो आयोगका अपूरा कामलाई निरन्तरता दिने अधिकारसमेत यस आयोगलाई दिइएको छ। सोहीअनुसार ५ हजार २१४ परिवारका फाइल प्रविष्ट भएको अध्यक्ष उपाध्यायले बताए।

















