
कञ्चनपुर: नेपालीहरुको महान पर्व दशैको अबसरमा कृष्णपुर–६ स्थित सिहपुर खेल मैदानमा आउँदो असोज ७ गतेदेखि कञ्चनजंगा स्कुल गुलरियाको आयोजनामा प्रथम कञ्चनजंगा यू–१७ विद्यालय स्तरीय पुरुष आमन्त्रित खुल्ला फुटबल प्रतियोगिता–२०८२ सुरु हुने भएको छ।

शुक्रबार कृष्णपुर–५ मा रहेको श्री कञ्चनजंगा ईङ्लस माध्यमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलन तथा ट्रफी अनावरण कार्यक्रममा प्रतियोगिताबारे जानकारी दिइएको हो।

खेल संयोजक के.पी. कलौनीका अनुसार प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ४१ हजार १ सय रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई २१ हजार १ सय रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार उपलब्ध गराईने आयोजकले जनाएको छ।

विद्यालयका अध्यक्ष खगेन्द्र प्रसाद ओझाले प्रतियोगिताले विद्यालयस्तरीय खेल प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै, अब विद्यालयले शिक्षा संगै खेलकुद प्रतियोगिताको पनि आयोजना गर्ने बताएका छन्। आयोजक समितिका अनुसार प्रतियोगिता असोज ७ गते दिउँसो ३ बजेबाट सुरु भई आउँदो असोज ११ गतेसम्म सञ्चालन हुने छ।
































