शुक्लाफाँटामा नयाँ पर्यटकीय गन्तव्य: स्थानीय युवाहरुको सक्रियतामा झोलुङ्गे पुल भाईरल बन्दै…

Image
Nisarga Hospital

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ बेलडानीस्थित अनौखी खोलामाथि निर्माण भएको झोलुङ्गे पुल, जो वर्षौँदेखि प्रयोगविहीन र उपेक्षित अवस्थामा थियो, अहिले स्थानीय युवाहरूको पहलले नयाँ जीवन पाउन थालेको छ।

२०७९ सालदेखि उपेक्षित रहँदै आएको पुललाई गत २०८२ साल असोज ६ गते घटस्थापनाको अवसर पारेर युवाहरूले आकर्षक बनाउने अभियान सुरु गरेका हुन्। आफ्नै लगानीमा गरिएको यस प्रयासअन्तर्गत पुलमा रंगीन बत्ती, कलात्मक झण्डा र विविध सजावटी सामग्रीहरू राखेर दृश्यावलोकनको रमाइलो स्थलमा रूपान्तरण गरिएको छ।

उक्त अभियान कविन्द्र सिंह धामीको नेतृत्वमा स्थानीय युवाहरूले अघि बढाएका हुन्। धामीले भने, “हामी युवाहरूले विदेशतर्फ मात्र होइन, आफ्नै गाउँघरमा पनि अवसर सिर्जना गर्न सक्छौँ भन्ने उदाहरण दिन यो अभियान सुरु गरेका हौँ। यसले गाउँको सौन्दर्य बढाउने मात्र होइन, पर्यटक भित्र्याएर आम्दानी गर्ने सम्भावना पनि खोलिदिन्छ।”

CP Hospital Dhangadhi
Attariya Hospital

स्थानीय बासिन्दाले समेत यस कदमको खुलेर स्वागत गरेका छन्। उनीहरूको विश्वास छ, पुल सुन्दर बनेसँगै गाउँको पहिचान बलियो हुनेछ र पर्यटनसँगै साना व्यवसायिक गतिविधिहरू पनि फस्टाउनेछन्।

युवाहरूको सामूहिक प्रयासले उपेक्षित संरचनालाई नयाँ रूप दिँदै शुक्लाफाँटा क्षेत्रमा अर्को पर्यटकीय गन्तव्यको सम्भावना उजागर गरेको छ। यसले अन्य स्थानका युवाहरूलाई पनि आफ्नै ठाउँको विकासमा जुट्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

nawajiwan