बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले यस वर्षको महान् चाड दशैँ, शुभ दिपावली र छठ लगायतका चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । चाडपर्वलाई सामाजिक, धार्मिक र सांस्कृतिक एकताको आधार बनाउँदै समुदायबीचको आपसी सद्भाव र सहयोगलाई अझ प्रगाढ बनाउने उद्देश्यसहित प्रशासनले आज एक सार्वजनिक सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीले चाडपर्वको अवसरमा मूल्यवृद्धि, कालोबजारी, म्याद नाघेका सामान बिक्री वितरण, यातायात भाडामा मनपरी, धार्मिक–जातीय–सामाजिक सद्भावमा खलल र भीडभाडका कारण दुर्घटना जस्ता समस्या नआओस् भन्ने हेतुले यस वर्ष विशेष सतर्कता अपनाउन सूचना प्रवाह गरेको छ ।
प्रशासनले आवश्यक वस्तु, सेवा र यातायात भाडादर तोकिएकै दरमा वितरण गर्न व्यापारी र सेवा प्रदायकहरूलाई अनुरोध गर्दै उपभोक्तालाई कुनै समस्या भएमा नजिकैको सुरक्षा निकाय वा ट्राफिक प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

त्यस्तै चाडपर्वका समयमा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र अवाञ्छित विद्युतिय माध्यम बाट नागरिकलाई ठगी गर्ने, ध्वनि प्रदूषण तथा आर्थिक शोषण गर्ने गतिविधि रोक्न समेत सूचनामा भनिएको छ। प्रशासनले विशेष गरी भीडभाड हुने ठाउँमा स्वास्थ्य सेवा, आपतकालीन उद्धार तथा सवारी साधन तयारीमा राख्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।
जिल्ला प्रशासनले राति ९ बजेपछि चाडपर्वसम्बन्धी कार्यक्रमहरू सीमित गर्न र निर्धारित समयमै अन्त्य गर्न स्थानीय तह, सुरक्षा निकाय र आयोजकहरूलाई अनुरोध गरेको छ।
“चाडपर्वलाई सांस्कृतिक सद्भाव, अनुशासन र सुरक्षित वातावरणमा मनाउन सबैको सहयोग अपरिहार्य छ,” सूचनामा उल्लेख छ, “कुनै समस्या वा गुनासो भएमा तत्कालै नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहोस ।”
जिल्ला प्रशासनको भनाइअनुसार चाडपर्वको समय यस्ता अपिलहरू पालना गर्नाले जिल्लाभर शान्ति, सुरक्षा र समन्वय कायम भई सबैले खुसीपूर्वक पर्व मनाउन सक्नेछन् ।