महेन्द्रनगर: महेन्द्रनगर कभर्डहलमा सम्पन्न प्रथम सुदूरपश्चिम स्तरीय खुल्ला कराते प्रतियोगितामा कञ्चनपुर जिल्लाले उत्कृष्ठ सफलता हासिल गर्दै प्रथम स्थान हात पारेको छ। यो उपलब्धि कञ्चनपुरकै जे.वि. एकेडेमीका खेलाडीहरूको उत्कृष्ट र दबाबिलो प्रदर्शनका कारण सम्भव भएको हो।
असोज ८ गतेदेखि १० गतेसम्म चलेको प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाका विभिन्न डोजोका ५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। तीमध्ये कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.वि. एकेडेमीले २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै विद्यालय स्तरमै उत्कृष्ठता प्रदर्शन गरेको छ।

पदक विजेता खेलाडीहरू यसप्रकार छन्:
१. भुपेन्द्र नाथ (कक्षा १०) — स्वर्ण पदक
२. लक्ष्मी लुहार (कक्षा ३) — स्वर्ण पदक

३. दुर्गा देउवा (कक्षा ६) — रजत पदक
४. श्रीया बोहरा (कक्षा ७) — कास्य पदक
खेलाडीहरूको यस सफलतामा कराते प्रशिक्षक एवं डि.आइ. गजेन्द्र लुहारको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ। विजेता खेलाडीहरू र प्रशिक्षकलाई विद्यालयले निकट भविष्यमै एक भव्य सम्मान समारोहको आयोजना गरी गौरवान्वित गर्ने जानकारी विद्यालयका संस्थापक तथा प्रिन्सिपल जगदीश सेट्टिले दिए।
विद्यालयले खेलकुदलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। विशेषगरी, कृष्णपुर नगरस्तरीय राष्ट्रपतिका कप रनिङ शिल्डमा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई विद्यालयले जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गर्दै आएको छ।
शैक्षिक उत्कृष्टतासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि अग्रसर देखिएको जे.वि. एकेडेमी अभिभावक र विद्यार्थीबीच प्रशंसा पाउँदै आएको छ। यस विद्यालयले प्रदेशमै पहिलोपटक विद्यालय स्तरबाट यतिधेरै पदक जितेर उदाहरण प्रस्तुत गरेको छ।