प्रथम कञ्चनजंगा यु-१७ फुटबल प्रतियोगितामा आयोजक कञ्चनजंगा च्याम्पियन, दोस्रो बन्यो सत्यावती एकेडेमी

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर–६ स्थित सिहपुर खेलमैदानमा सम्पन्न प्रथम कञ्चनजंगा यु–१७ फुटबल प्रतियोगिता २०८२ को उपाधि कञ्चनजंगा माध्यमिक विद्यालय गुलरियाले जितेको छ। उपाधि भिडन्तमा गुलरियाले सत्यावती एकेडेमी अत्तरियालाई पेनाल्टीमार्फत पराजित गर्दै पहिलो पटक प्रतियोगिताको ट्रफी हात पारेको हो।

CP Hospital Dhangadhi

गत असोज ७ गतेदेखि सुरु भएको प्रतियोगितामा कञ्चनपुर र कैलालीका १६ टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलपछि उपाधि विजेता कञ्चनजंगाले ४१ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सत्यावती एकेडेमीले २१ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ।

nawajiwan

व्यक्तिगत विधामा समेत उत्कृष्ट प्रदर्शन गर्दै कञ्चनजंगाका सन्तोष चौधरी बेष्ट प्लेयर, आयुस विक बेष्ट गोलकिप्पर तथा म्यान अफ दि म्याच घोषित भए भने सत्यावती एकेडेमीका प्रसान्त तामाङ बेष्ट स्कोरर बन्न सफल भए।

Attariya Hospital

समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद ओझाको सभाध्यक्षता, डा. फुलराम चौधरीको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि जोगराज चौधरी, कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरी, कञ्चनजंगाका प्रधानाध्यापक पदम बहादुर ऐर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका खेल संयोजक के.पी. कलौनीले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको जानकारी दिँदै आगामी वर्षहरुमा अझ आकर्षक ढङ्गले प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, विद्यालयका अध्यक्ष ओझाले खेलकुदमार्फत विद्यार्थीलाई शैक्षिक र सामाजिक दुवै क्षेत्रमा प्रेरणा मिल्ने भएकाले निरन्तर यस्ता कार्यक्रम आयोजना गरिने बताए।

स्थानीयस्तरमा पहिलो पटक आयोजित प्रतियोगिताले कञ्चनपुर र कैलालीका युवामा खेलप्रतिको आकर्षण र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गरेको सहभागी र दर्शकले बताएका छन्।