बैतडी: बैतडीको सिगास गाउँपालिका–२ गाँजरी, पिडेगोदाका पाँच जना असहाय बालबालिकाका लागि समाजसेवी सूर्य बहादुर बोहराको पहलमा सुदूरपश्चिमका चर्चित देउडिया गायक जे.आर. भट्ट र समाजसेवी एस.के. जिवन प्रेम सहितको टिमले सहयोगका सामग्री वितरण गरेको छ ।
बोहराको समन्वयमा गरिएको उक्त सहयोग अन्तर्गत ती बालबालिकालाई आज बुधबार न्यानो ज्याकेट, जुत्ता, चप्पल, दाल र चामल लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो ।

यी बालबालिका ३४ वर्षीया बेलमती धामीका सन्तान हुन्, उनको भदौ २२ गते आफ्नै भतिजोको हातबाट निर्मम हत्या भएको थियो । श्रीमानको निधनपछि पाँच सन्तानलाई पालनपोषण गर्दै आएकी बेलमतीको अकालमै मृत्युले गाउँ शोकमा डुबेको छ ।

समाजसेवी बोहराले घटनापछि असहाय बनेका बालबालिकाको अवस्थाले आफूलाई गहिरो रूपमा छोएको बताउँदै भने, यी नानी–बाबुहरूको उज्यालो भविष्यका लागि सबै मिलेर हातेमालो गर्नुपर्छ ।
यस अभियानमा सक्रिय सहयोगी सुदूरपश्चिमका चर्चित देउडिया गायक जे.आर. भट्ट र समाजसेवी एस.के. जिवन प्रेम लाई बोहराले विशेष धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, उनीहरूले आफ्नो अमूल्य समय र श्रम खर्चेर असहाय बालबालिकाको जीवनमा आशाको दियो बाल्न सहयोग गर्नुभयो, यो समाजका लागि प्रेरणादायी काम हो।
स्थानीय बासिन्दाले पनि उक्त कदमलाई दुःखमा साथ, समाजमा उदाहरण भन्दै प्रशंसा गरेका छन् । अहिले ती बालबालिकाको पढाइ, लालनपालन र मनोसामाजिक सहयोगका लागि थप सहयोग अभियान विस्तार गर्ने तयारी भइरहेको छ ।
समाजसेवी बोहराले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैको व्यक्तिगत, कलाक्षेत्र र सामाजिक यात्राको सफलता तथा उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।