यो हिउँद असामान्य हुने संकेत! देशभर वर्षा घट्ने, तापक्रम भने झनै बढ्ने – मौसम विभागको चेतावनी

Image
Nisarga Hospital

देशभर हिउँदको प्रभाव यस वर्ष असामान्य हुने संकेत देखिएको छ। मङ्सिर १५ देखि फागुन १६ सम्मको अवधिमा देशका धेरै भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम दुबै सरदरभन्दा बढी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

CP Hospital Dhangadhi

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमका पूर्वी–दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी, बाग्मतीका दक्षिणी, मधेसका उत्तरी तथा कोशी प्रदेशका मध्य–पूर्वी भूभागमा वर्षा कम हुने सम्भावना ५५–६५ प्रतिशत रहेको छ। यस्तै, देशका अन्य भूभागमा पनि ३५–५५ प्रतिशतसम्म वर्षा कम हुने प्रक्षेपण गरिएको छ।

अधिकतम तापक्रमतर्फ हेर्दा गण्डकी, बाग्मती, कोशीका केही भूभागमा तापक्रम ५५–६५ प्रतिशत सम्भावनासहित सरदरभन्दा बढी हुने अनुमान गरिएको छ। कर्णाली र लुम्बिनीका विभिन्न भूभागमा पनि तापक्रम बढ्ने सम्भावना ३५–५५ प्रतिशतसम्म रहने विभागले बताएको छ।

न्यूनतम तापक्रमसमेत देशभर बढ्ने पूर्वानुमान छ। सुदूरपश्चिमका उत्तरी–दक्षिणपश्चिम, कर्णालीका मध्य–उत्तरी, लुम्बिनी र मधेसका अधिकांश भूभागमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५–६५ प्रतिशत रहेको उल्लेख छ।

यस वर्ष हिउँदमा वर्षा घट्ने र तापक्रम वृद्धि दुवैले कृषि, वन, स्वास्थ्य र जलस्रोत क्षेत्रमा प्रत्यक्ष असर पार्ने अनुमान विशेषज्ञहरूले गरिरहेका छन्।