
काठमाडौंको सिनामंगलस्थित डेरामा चार महिनाको शिशुको मृत्यु भएको घटनामा नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

उपचारसम्बन्धी विषयमा दम्पतीबीच हुँदै आएको निरन्तर विवादले घटनाको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए, भने उनकी श्रीमती कृष्णा कुँवर पनि नेपाल प्रहरीकी जवान हुन्। दुवै डोटीको शिखर नगरपालिका–५ का स्थायी बसिन्दा हुन्।

विवाद चर्किँदा कार्कीले पत्नीलाई चोटपटक पुर्याएको र त्यसपछि शिशु गम्भीर अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार प्राप्त चोटकै कारण शिशुको मृत्यु भएको बताइएको छ। घटनापछि कृष्णा कुँवरलाई उपचारका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

शिशुलाई जन्मजात स्वास्थ्य समस्या रहेको र त्यसकै कारण दम्पतीबीच पटक–पटक विवाद भइरहने गरेको पनि खुलेको प्रहरीले जानकारी दिएको छ। कार्कीलाई प्रहरी नियन्त्रणमा राखी गम्भीर प्रकृतिको मुद्दामा अनुसन्धान अघि बढाइएको छ।































