
म असफल छोरी हुँ भन्छन् सबैले,
मेरो मौनतालाई हार ठान्नेहरूले।
हातमा सपना थिए, आँखामा उज्यालो,
तर समयले लेख्यो मेरो नाम असफलको पाटो।
म पनि अरूझैँ हाँस्न चाहन्थेँ,
सफलताको तस्बिर सामाजिक सञ्जालमा राख्न चाहन्थेँ।
तर मेरो संघर्ष फोटोमा अटेन,
मेरो पीडा स्टाटसमा समेटिन सकेन।
आमाको आँखामा प्रश्न देख्छु,
बुबाको मौनताले अझै पोल्छ।
“के भयो छोरी?” भन्ने शब्दले,
मेरो आत्मा भित्रभित्रै चिरिन्छ।
म प्रयास नगरेकी हैन,
रातभर जाग्राम बसेकी हुँ।
आँसु पुछेर किताब खोलेकी छु,
हारसँग लड्न एक्लै उभिएकी हुँ।
तर कसले बुझ्छ
संघर्ष चिच्याएर आउँदैन भनेर?
केही सपना ढिलो पूरा हुन्छन्,
यो सत्य कसले सिकायो र?
आज म प्रश्न बनेकी छु समाजका लागि,
आज म उदाहरण बनेकी छु असफलताको सूचीमा।
तर कसैले मेरो साहस गनेन,
कसैले मेरो हिम्मत नापेन।
म थाकेको देखिन्छु,
तर टुटेकी छैन।
म चुप बसेकी छु,
तर हार मानेकी छैन।
म असफल छु भनेर
मेरो मूल्य नतोक,
मेरो समय ननाप।
किनकि आजको मौन छोरी
भोलिको उत्तर बन्न सक्छ।
म त्यो छोरी हुँ
जो लडेर पनि उठ्न जान्छ।
जो रोएर पनि
फेरि सपना देख्न जान्छ।
एक दिन यही असफल छोरी
गर्वको नाम बन्नेछ,
आमाबुबाको आँखामा
फेरि उज्यालो फर्किनेछ।
आज शब्दहरूले मलाई चुप गराए पनि,
मेरो आत्माले हार मानेको छैन।
आज म असफल छोरी हुँ भन्छन्,
तर भोलि—
म आफैँ मेरो सफलताको कहानी लेख्नेछु।

अंगिता चौधरी
कैलाली बहुमुखी क्याम्पस
धनगढी , कैलाली





































