डिजिटल युगको दौडधुपमा हराउँदै गएको पारिवारिक सम्बन्धको कथा बोकेर आउँदै ‘अधुरो धुन : समयको सारङ्गी’

Image
Nisarga Hospital

सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय प्रतिभालाई राष्ट्रिय चलचित्र क्षेत्रमा चिनाउने लक्ष्यसहित नयाँ नेपाली चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’ निर्माणको अन्तिम तयारीमा जुटेको छ। प्याट टिम कलेक्सन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

CP Hospital Dhangadhi

आधुनिक डिजिटल प्रविधिको बढ्दो प्रभाव, कर्पोरेट जीवनको व्यस्तता र परिवारभित्र हराउँदै गएको आपसी संवादलाई कथाको केन्द्रमा राखिएको चलचित्रले बदलिँदो नेपाली समाजको यथार्थलाई भावनात्मक तथा कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गर्नेछ।

चलचित्रमा ‘सारङ्गी’ लाई केवल एउटा बाजाका रूपमा नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति, पारिवारिक सम्बन्ध र आफ्नो पहिचान खोजिरहेको नयाँ पुस्ताको प्रतीकका रूपमा प्रस्तुत गरिनेछ। कृत्रिम डिजिटल ध्वनिभन्दा प्रत्यक्ष वाद्यवादनलाई प्राथमिकता दिइएको चलचित्रमा फडिन्द्र राई र महाराज थापाले संगीत संयोजनको जिम्मेवारी सम्हालेका छन्। यसले चलचित्रको कथालाई थप जीवन्त र भावनात्मक बनाउने निर्माण पक्षको विश्वास छ।

चलचित्रका निर्माता टिकाराम कट्टेल र एमटी थापा हुन्। कथा, पटकथा, संवाद, निर्देशन तथा शब्द–संगीत वेदप्रसाद भुर्तेलको रहेको छ भने मुख्य सहायक निर्देशकका रूपमा नवराज शर्माले काम गरिरहेका छन्। धनगढीस्थित होटल डिभोटी चलचित्रको हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ।

यस चलचित्रको अर्को आकर्षण धनगढीबाट आफ्नो कला यात्रा सुरु गरेका अमृत थापा हुन्। स्थानीय विद्यालयका विद्यार्थीलाई नृत्य सिकाउने शिक्षकबाट राष्ट्रिय चलचित्रको मुख्य नायकसम्म आइपुगेको उनको यात्रालाई सुदूरपश्चिमको प्रतिभा, संघर्ष र समर्पणको उदाहरणका रूपमा हेरिएको छ।

समग्रमा ‘अधुरो धुन : समयको सारङ्गी’ मनोरञ्जनमा मात्र सीमित नभई हराउँदै गएको पारिवारिक आत्मीयता, सांस्कृतिक पहिचान र पुस्ताबीचको सम्बन्धलाई सांगीतिक तथा भावनात्मक माध्यमबाट जोड्ने अपेक्षा गरिएको चलचित्र हो।