
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल खेलको टिकट बिक्री सुरु हुनुअगावै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला हुने जानकारी दिइए पनि १२ बजेर ५७ मिनेटमै टिकट सकिएको विवरण टिकेटिङ प्लेटफर्ममा देखिएको थियो।

तोकिएको समयपछि पनि टिकट खरिद गर्न नसकिएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा गुनासो गरेका छन्। बिक्री सुरु नहुँदै टिकट सकिएको देखिनुले टिकट व्यवस्थापनको पारदर्शितामाथि समेत प्रश्न उठेको छ।
यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिँदै एकैपटक करिब २ लाख प्रयोगकर्ताले टिकट खरिद गर्न खोजेकाले केही मिनेटमै टिकट सकिएको जनाएको छ।
क्यानका सचिव पारस खड्काले शुक्रबार जारी गरेको विज्ञप्तिमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको क्षमताअनुसार टिकट सीमित रहेकाले अत्यधिक माग धान्न नसकिएको उल्लेख गरेका छन्। टिकट नपाएका दर्शकसँग क्यानले क्षमायाचना गर्दै अनलाइन तथा आधिकारिक प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हेर्न आग्रह गरेको छ।
फाइनलका लागि सामान्य टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ तोकिएको थियो। शनिबार साँझ ५ बजे कीर्तिपुरमा हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दैछन्। लुम्बिनी लगातार दोस्रो उपाधिको लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा छ।






























