
प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सुनाउनेछन्। साथै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढिनेछ।


बैठकमा तीन वटा अध्यादेश प्रस्तुत हुनेछन्। जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन्।
त्यसपछि दलीय आधारमा सांसदहरूले आ–आफ्ना मन्तव्य राख्ने कार्यक्रम छ। साथै सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने सम्भावित कार्यसूची पनि समावेश गरिएको संसद् सचिवालयले जनाएको छ।






























