
अत्तरियाः सुदूरपश्चिम प्रदेशका लागि बहुप्रतीक्षित शैक्षिक तथा स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। गोदावरी–५, गेटामा अवस्थित यो विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णयसँगै सक्रिय हुने भएको हो।

विश्वविद्यालय सभाको चौथो बैठकले चार वटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको छ। बैठक शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार आगामी सत्रदेखि एमबिबिएस, बीएस्सी नर्सिङ, बीएमएलटी र अप्टोमेट्री विषयमा कक्षा सञ्चालन हुनेछ।

निर्णयअनुसार ५० जना एमबिबिएस, ३० जना नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीका विद्यार्थी भर्ना गरिनेछ। साथै, ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको छ। सरकारले विश्वविद्यालयका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरेको छ भने ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ।

आर्थिक वर्ष ०८२/८३ का लागि चिकित्सक तलबबापत ५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ। हालसम्म ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको यस परियोजनामा ४२ भवन निर्माण सम्पन्न भएका छन्।
सिनेट बैठकले चार सदस्य मनोनीत गरेको भए पनि नाम सार्वजनिक गरिएको छैन। यसअघि बैठक काठमाडौंमा बस्दै आएकोमा पहिलो पटक गेटामै सम्पन्न भएको हो। विश्वविद्यालयको सर्वोच्च निकाय सभामा शिक्षामन्त्री अध्यक्ष रहने व्यवस्था छ।
कैलाली क्षेत्र नं ५ का सांसद डा. आनन्द चन्दले विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य सेवामा नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। यस विश्वविद्यालयले स्थानीय स्तरमै चिकित्सा शिक्षा उपलब्ध गराउँदै बाहिर जानुपर्ने बाध्यता घटाउने र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
































