
काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको यात्रुवाहक बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको तत्काल उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ।
बस सडकमै पल्टिएकाले पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रु तथा सवारीसाधन लामो समयदेखि सडकमै रोकिएका छन्।

घटनालगत्तै प्रहरी, उद्धार टोली तथा सम्बन्धित निकाय घटनास्थलमा पुगेका छन्। सडक खुलाउने र थप उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































