कृष्णपुरमा स्वास्थ्य अभियानको लहर चल्दै, नसर्ने रोगविरुद्ध ‘नागरिकसँग मेयर’ वडा नं. ४ किचाई शिविरबाट सुरु

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत नसर्ने रोग पहिचान तथा उपचार अभियानको चौथो संस्करण आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। अभियानको शुभारम्भ वडा नं. ४ स्थित किचाई शिविरबाट गरिएको हो। यस कार्यक्रमलाई नगरपालिकाले जनस्वास्थ्य सुदृढीकरणतर्फको ऐतिहासिक कदमका रूपमा लिएको छ।

CP Hospital Dhangadhi

नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार यो अभियान आगामी करिब ३५ दिनसम्म सञ्चालन हुनेछ र नगरका नौ वटै वडाका करिब १६ हजार घरधुरीसम्म घरदैलो स्वास्थ्य सेवा विस्तार गरिने बताएका छन ।

nawajiwan

नगर प्रमुख ओझाले कार्यक्रमको शुभारम्भ गर्दै नागरिकको स्वास्थ्य नै नगर विकासको आधार भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने नीति अघि सारिएको हो। साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहाय समूहलाई प्राथमिकतामा राखिएको उहाँले स्पष्ट पार्नुभयो।

स्वास्थ्य शाखाका प्रमुख वंशीराज भट्टका अनुसार अभियानमार्फत मधुमेह, उच्च रक्तचाप, मृगौला रोगलगायत नसर्ने दीर्घरोगको प्रारम्भिक पहिचान, परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिनेछ। महिला, सुत्केरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइएको बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमै पुगेर सेवा प्रदान गरिने जानकारी दिनुभयो।

Attariya Hospital

वडा नं. ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले किचाई शिविरबाट अभियान सुरु हुनु स्थानीयका लागि ठूलो राहत भएको बताउँदै सबै वडावासीलाई स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गर्नुभयो।

स्वास्थ्य विज्ञहरूका अनुसार नसर्ने रोगको जोखिम बढ्दै गइरहेकाले जीवनशैली सुधार, नियमित परीक्षण र जनचेतना अत्यावश्यक बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै कृष्णपुरले रोकथाममुखी स्वास्थ्य अभियानलाई प्राथमिकतामा राखेको हो।

नगरपालिकाले रक्तचाप, सुगर, BMI लगायतका परीक्षणसहित निःशुल्क औषधि वितरण र गम्भीर बिरामीलाई रिफर सेवा समेत उपलब्ध गराउने जनाएको छ। स्थानीय तहको सक्रियतामा सञ्चालन भइरहेको यो अभियानलाई प्रभावकारी स्वास्थ्य व्यवस्थापनको उदाहरणका रूपमा लिइएको छ।

सम्बन्धित समाचार …

कञ्चनपुरको कृष्णपुरमा ‘नागरिक संग मेयर’ कार्यक्रमको चौथो संस्करण सुरु