
विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो विश्वव्यापी श्रमशक्तिको करिब १० प्रतिशत अर्थात् झण्डै ८ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। बुधबारदेखि सुरु भएको यो प्रक्रिया तीन चरणमा सम्पन्न गरिनेछ, जसअन्तर्गत प्रभावित कर्मचारीहरूलाई स्थानीय समयअनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको छ।

कटौतीको सबैभन्दा बढी असर ‘इन्टेग्रिटी टिम’मा परेको छ, जसले हानिकारक सामग्री तथा घृणाजनक अभिव्यक्ति नियन्त्रण गर्ने काम गर्दै आएको थियो। साइबर सुरक्षा, कन्टेन्ट निर्माण तथा डिजाइन विभागका कर्मचारीहरू पनि प्रभावित भएका छन्।
अमेरिकामा काम गर्ने कर्मचारीहरूलाई १६ हप्ताको सेभरेन्स पे तथा कम्पनीमा बिताएको प्रत्येक वर्षका लागि थप दुई हप्ताको भुक्तानी दिइने मेटाले जनाएको छ। यसका साथै थप ६ हजार नयाँ भर्ना गर्ने योजना रद्द गरिएको छ भने करिब ७ हजार कर्मचारीलाई अन्य विभागमा स्थानान्तरण गरिने भएको छ।


कम्पनीभित्र कर्मचारीको मनोबल खस्किएको बेला यो निर्णय आएको हो। वाल स्ट्रिट जर्नलका अनुसार एआई मोडेल प्रशिक्षणका लागि कर्मचारी डेटा प्रयोगसम्बन्धी विवादले असन्तुष्टि बढाएको छ। १,५०० भन्दा बढी कर्मचारीले डाटा सङ्कलन रोक्न माग गरेका छन्।
मार्क जुकरबर्ग नेतृत्वमा मेटाले एआई विकासमा ठूलो लगानी गर्दै “मेटा सुपरइन्टलिजेन्स” परियोजना अघि बढाइरहेको छ। यसैबीच, गोल्डम्यान साक्सका अनुसार एआईका कारण रोजगारी विस्थापन बढ्दै गएको छ, भने सिस्कोले पनि ४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।






























