सचेतना नमानेपछि डोजरको प्रहार, कैलालीको गोदावरी क्षेत्रका अवैध संरचना ध्वस्त

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी क्षेत्रमा वन तथा राजमार्ग क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डिभिजन वन कार्यालय कैलालीले पुनः डोजर चलाएको छ। शुक्रबार सञ्चालन गरिएको अभियानअन्तर्गत सालिनी वाटिका क्षेत्र तथा गोदावरी पुल आसपासका विभिन्न अवैध संरचना हटाइएको कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

डिभिजन वन कार्यालयका प्रमुख रामबिचारी ठाकुरका अनुसार अतिक्रमणकारीलाई पटक–पटक सचेत गराइए पनि अटेर गरेपछि कानुनी प्रक्रिया अनुसार संरचना हटाउने कार्य गरिएको हो। “वन क्षेत्र संरक्षण राज्यको प्राथमिकता हो। बारम्बार सूचना र आग्रह गर्दा पनि अतिक्रमण हटाइएन, त्यसैले बाध्य भएर डोजर प्रयोग गर्नुपरेको हो,” उनले भने।

यसअघि पनि सो क्षेत्रमा निर्माण गरिएका केही संरचनामा डोजर चलाइएको थियो। बाँकी रहेका संरचनाहरू हटाउन शुक्रबार पुनः अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

nawajiwan
Attariya Hospital

वन क्षेत्र अतिक्रमण बढ्दै गएपछि संरक्षणमा चुनौती थपिएको भन्दै कार्यालयले भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने संकेत गरेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएको अभियानका क्रममा कुनै अप्रिय घटना भने नभएको जनाइएको छ।

वन क्षेत्र तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सरकारी निकायले देखाएको सक्रियताले अवैध अतिक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले वन तथा राजमार्ग क्षेत्र अतिक्रमण नगर्न सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।