
काठमाडौंः युवा गजलकार भीम सिंह धामीको दोस्रो गजल सङ्ग्रह ‘इजर’ को आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच विमोचन गरिएको छ।

कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, भाषाविद् डा. पदमराज कलौनी र कृषि विकास बैंकका पूर्व सञ्चालक समिति सदस्य घनश्याम अवस्थीलगायतले संयुक्त रूपमा उक्त सङ्ग्रहको विमोचन गरेका थिए।
विमोचित कृतिका बारेमा समालोचक तथा गजलकार द्वय सङ्गीता थापा र रूपक बनबासीले समीक्षा गरेका थिए। समीक्षाका क्रममा उनीहरूले सङ्ग्रहभित्र प्रेमको मिठासदेखि राजनीतिको तीतो यथार्थसम्म, र समाजको ऐनादेखि माटोको सुगन्धसम्मका विविध विषयवस्तु समेटिएको बताए। जीवनका भोगाइ र देशको वर्तमान अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो कृति पाठकका लागि पठनीय र सङ्ग्रहणीय रहेको समीक्षकहरूको भनाइ थियो।


बाबु त्रिपाठीले संयोजन गरेको उक्त विमोचन कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।
गजलकार धामीको यसअघि वि.सं. २०८० मा ‘अनमोल’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ।
































